नरेन्द्र मोदीको गठबन्धन बहुमततर्फ, पहिलाभन्दा कम मत


बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन जारी मतगणनामा अगाडि बढिरहेको देखिएको छ । तर प्रारम्भिक नतिजाअनुसार ‘एक्जिट पोल’ ले देखाए जसरी ठूलो बहुमत ल्याउन नसक्ने देखिन्छ ।

मोदीको भारतीय जनता पार्टी बीजेपी नेतृत्वको गठबन्धनले कुल ५४३ सीटमध्ये २९० भन्दा बढीमा अग्रता कायम गरेको छ । कङ्ग्रेस र त्यसमा आबद्ध विपक्षीहरूको गठबन्धनले २२० भन्दा बढी सीटमा अग्रता लिएको छ ।

हालसम्मको नतिजाअनुसार विपक्षी गठबन्धनले देखाएको बलियो उपस्थितिबाट चाहिँ धेरै विश्लेषकहरू अचम्ममा परेका छन् ।

यसै सप्ताहन्तमा ‘एक्जिट पोल’ हरूले बीजेपी नेतृत्वको एनडीएले व्यापक बहुमत ल्याउने र उनीहरू संविधानमा परिवर्तन गर्न सक्ने देखाएका थिए ।

ऐतिहासिक रूपमा लगातार तेस्रो कार्यकाल सम्हाल्ने प्रयासमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले बीजेपीका लागि ३७० सीट र गठबन्धनका लागि ४०० सीटको लक्ष्य राखेका थिए । यो निर्वाचनलाई सत्तामा एक दशक बिताएका र विभिन्न क्षेत्रमा रूपान्तरण गरेका मोदीमाथि धेरैले जनमत सङ्ग्रहको रूपमा हेरेका छन् ।

प्रारम्भिक मतपरिणामपछि कङ्ग्रेसको मुख्यालयमा पार्टी कार्यकर्ताहरूले खुशियाली मनाइएका देखियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार भारतीय आमनिर्वाचनमा औसतमा ६६ प्रतिशतले मतदान गरेका थिए ।

सुरक्षा तथा बन्दोबस्तीसम्बन्धी व्यवस्थापनका कारण गत अप्रिलदेखि जून १ तारिखसम्म सात चरणमा मतदान भएको थियो । अधिकांश मतदान प्रचण्ड गर्मीबीच भएको थियो जति बेला भारतका कतिपय क्षेत्रमा ५० डिग्री सेल्सिअसको आसपास तापक्रम पुगेको थियो ।

बीजेपी र उसका प्रतिद्वन्द्वीहरूले एकदमै तिक्ततापूर्ण चुनावी अभियान चलाएका थिए । ‘मुस्लिमहरूको अपमान गरेको भन्ने आरोप’ विपक्षीहरूले लगाउँदा मोदीले ‘आफू विभाजनकारी भएको भन्ने आरोप अस्वीकार गरेका’ थिए ।

चुनावी अभियानका क्रममा मोदीले लोककल्याणकारी कार्यक्रम र विश्वमा भारतको परिचय बुलन्द पारेको लगायतका उपलब्धि हासिल गरेको दाबी गरेका थिए ।

अर्कोतर्फ विपक्षीहरूले खासगरी युवा बेरोजगारीका बारेमा र बीजेपीले बहुमत ल्याएमा संविधानमा परिवर्तन ल्याई सीमान्तकृतका अधिकार कटौती गर्न सक्ने चर्चा गरेका थिए । भारतको लोकसभामा ५४३ सदस्य हुन्छन् । कुनै दलविशेष वा गठबन्धनलाई बहुमत पुर्याउन २७२ सीट चाहिन्छ ।

लोकसभाका सदस्यहरू पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुन्छन् र प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ । ‘अनुसूचीकृत जाति’ र ‘अनुसूचीकृत आदिवासी’ समुदायका लागि १३१ वटा सीटको आरक्षण छ।