सबै देशलाई चाँडै महामारी सम्झौता लागु गर्न डब्ल्युएचओ प्रमुखको आग्रह


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का प्रमुखले सोमबार देशहरूलाई कडा समयसीमा गुमाएपछि भविष्यमा महामारीको सामना गर्नका लागि ऐतिहासिक विश्वव्यापी सम्झौता गर्न आग्रह गरेका छन् ।

लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ ले अर्थतन्त्रहरूलाई तहसनहस बनायो र स्वास्थ्य प्रणालीहरूलाई अपाङ्ग बनायो । मुलुकहरूले महामारीको रोकथाम, तयारी र प्रतिक्रियामा बाध्यकारी प्रतिबद्धता बनाउने प्रयासमा दुई वर्ष खर्च गरे ।

वार्ताकारहरू यस हप्ताको विश्व स्वास्थ्य सभा (डब्ल्यूएचओको एक सय ९४ सदस्य राष्ट्रको वार्षिक भेला) मा वार्ता समाप्त गर्ने अन्तिम मिति अघि सम्झौता गर्न असफल भएका छन् ।

डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सोमबार बैठकको सुरुवातमा एउटा सम्झौता सुनिश्चित हुनेमा उहाँ विश्वस्त रहेको बताए । “निश्चितरूपमा हामी यस स्वास्थ्य सभाका लागि समयमै आम सहमतिमा पुग्न सकौँ र अन्तिम रेखा पार गर्न सकौँ भन्ने हामी चाहन्छौँ”, उनले भने ।

टेड्रोसले वार्ताकारहरूसामु काम ‘प्राविधिक, कानूनी र राजनीतिकरूपमा धेरै थियो’ भन्दै उनीहरूले ‘धेरै महत्त्वाकांक्षी समयसीमामा काम गरिरहेको’ बताए ।

शुक्रबारको समयसीमा गुमेपछि पनि देशहरूले सम्झौतामा जोड दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जुन १ सम्म चल्ने वार्ताको नतिजा मङ्गलबार सभासमक्ष वार्ताकारहरूले प्रस्तुत गर्नेछन् र सभाले के गर्ने वा नगर्ने भन्ने निर्णय गर्न अध्ययन गर्नेछ ।

“मलाई थाहा छ कि तपाईंहरूमाझ यो गर्न को लागि एक साझा इच्छा बाँकी छ, त्यसैले त्यहाँ सधैँ एक तरिका हुनुपर्छ”, टेड्रोसले भने, “अर्थात समाधान तपाईंको हातमा छ ।”

सन् १९६९ मा पहिलो पटक अपनाइएको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई परिमार्जन गर्ने र विश्वभरका जनस्वास्थ्य आपत्कालीन अवस्थाहरूमा प्रतिक्रिया दिन विद्यमान अन्तर्राष्ट्रिय कानूनी रूपमा बाध्यकारी ढाँचा गठन गर्ने विषयमा समानान्तर वार्ताहरू भएका छन् ।