इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय


 

इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर हुसेन मगसौदलुलाई ‘अश्लील सामग्री’ प्रसारित गरेको आरोपमा कारागार सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ ।

३६ वर्षीय सङ्गीतकार मगसौदली गत वर्ष डिसेम्बरमा टर्की प्रहरीले इरानलाई सुम्पनुअघि सन् २०१८ देखि भूमिगतरूपमा इस्तानबुलमा बस्दै आएका थिए । त्यसबेलादेखि उनी इरानी हिरासतमा छन् ।

उनका वकिल एल्हम रहिमीफरले विस्तृत जानकारी नदिई टाटालुलाई ‘छोटो र लामो’ कारागार सजाय दिइएको बताए । उनले सरकारी अखबार जाम–ए–जामलाई सजायविरुद्ध पुनरावेदन गर्न सकिने बताए ।

पछि इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले टाटालुलाई ‘ईश्वर निन्दा’ का लागि तीन वर्षको कारागार सजाय दिइएको बताएको छ । मिजानले विस्तृत उल्लेख नगरी उनले अन्य आरोपको पनि सामना गर्नुपरेको बताएको छ ।

इरानको कानूनअन्तर्गत कारागार सजाय एकैसाथ चल्छ । टाटालुविरुद्ध मार्चमा ‘वेश्यावृत्ति’ लाई बढावा दिएको र इरान तथा अन्य ‘अश्लील सामग्री’ विरुद्ध ‘प्रचार’ फैलाएको आरोपमा मार्चमा मुद्दा सुरु भएको थियो ।

र्याप, पप र आर एन्ड बिको संयोजनका लागि परिचित अत्यन्त धेरै ट्याटु लगाएका गायक टाटालुलाई यसअघि रूढिवादी राजनीतिज्ञहरूले युवा, उदार विचारधारा भएका इरानीहरूसम्म पुग्ने तरिकाका रूपमा प्रस्तुत गरेका थिए । यहाँसम्म कि उनले सन् २०१७ मा अति–रूढिवादी तथा हालका इरानका राष्ट्रपति इब्राहिम रायसीसँग एउटा अप्ठ्यारो टेलिभिज बैठक पनि गरेका थिए ।

तेहरान र विश्व शक्तिहरूबीच ऐतिहासिक आणविक सम्झौता नसुल्झिरहेका बेला सन् २०१५ मा टाटालुले इरानको आणविक कार्यक्रमको समर्थनमा एक गीत प्रकाशित गरेका थिए ।