दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।
मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष बताएका छन् ।
अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) की नेता मापिसा एनकाकुला मौन रहेकी थिइन् र पछि उनलाई जमानतमा रिहा गरिएको थियो ।
संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

प्रतिक्रिया