हमासलाई युद्धविरामका लागि अमेरिकी विदेशमन्त्रीको आग्रह


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हमासलाई इजरायलसँग तत्काल युद्धविराम स्वीकार गर्न आह्वान गरेका छन् । हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो । उनले युद्धविराम भएमा प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्नसक्ने बताए ।

वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी विदेशमन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने बताएका छन् । हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्ने बारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले स्पष्ट पारेका छन् ।