रुसी अधिकारकर्मी ओलेग आर्लोभलाई जेल सजाय


बीबीसी । रुसका एकजना प्रतिष्ठित मानव अधिकारकर्मीलाई अदालतले दुई वर्ष ६ महिनाको जेलसजाय सुनाएको छ । मुद्दाको दोहोर्याएर सुनुवाइ गर्नुअघि सत्तरी वर्षीय अधिकारकर्मी ओलेग आर्लोभलाई जरिवाना मात्रा सुनाइएको थियो ।

न्यायाधीशको आदेशको प्रतीक्षामा आर्लोभ अदालतभित्र शान्तिपूर्वक बसिरहेका देखिएका थिए । न्यायाधीश इजलासभित्र छिरिन् र आदेश पढेर सुनाउन थालिन् । अनुभवी मानव अधिकारकर्मी आर्लोभलाई रुसी फौजविरुद्ध ‘निरन्तर अविश्वास फैलाउँदै आएको’ अभियोगमा दोषी ठहर गरिन् ।

उनले गरेको अपराधको किटान गर्दै न्यायाधीशले सजाय घोषणा गरिन्, ‘नोबेल शान्ति पुरस्कार विजेता मानव अधिकार समूह मेमोरीअलका सहअध्यक्ष ओलेग आर्लोभलाई साढे दुई वर्षको जेलसजाय दिइएको छ।’

हत्कडीमा देखिएका आर्लोभलाई केही मिनेटपछि प्रहरीले इजलासबाट बाहिर लगेको थियो । यसअघि सन् २०२३ को अक्टोबरमा एउटा अदालतले उनलाई दोषी ठहर गरेको थियो । तर अदालतले उनलाई हल्का खालको सजाय सुनाएको थियो ।

उनलाई डेढ लाख रुबल तिर्न लगाइएको थियो । अभियोजनकर्ताहरूले त्यो सजाय निकै नरम रहेको तर्क गरे । एउटा उच्च अदालतले त्यो आदेशलाई खारेज गरिदियो र मुद्दाको पुनः सुनुवाइ गर्न आदेश दियो।