मध्यपूर्वको ‘भयानक मानव मूल्य’ प्रति युवराज विलियम चिन्तित


बेलायती सिंहासनका उत्तराधिकारी युवराज विलियमले इजराइल–हमास द्वन्द्वबारे दुर्लभ बयान जारी गर्दै ‘भयानक मानव मूल्य’ माथि आफ्नो चिन्तालाई रेखाङ्कित गरेका छन् । युद्धका कारण हुने मानवीय पीडा र यहुदीविरोधी भावनामा वैश्विक वृद्धिलाई पहिचान गर्नका लागि विलियमले यो साता लन्डनमा भ्रमणअघि उक्त टिप्पणी गरेका हुन् ।

उनी मानवीय सहायता कार्यकर्ताहरूसँग भेट्ने र यहुदीविरोधी भावनाका बारेमा विभिन्न समुदायका युवाहरूसँग एक सभाघरको छलफलमा सहभागी हुनेछन् । शाही परिवारले सामान्यतया अन्तर्राष्ट्रिय विवादहरूमा टिप्पणी गर्दैनन् ।

विलियिमका पिता राजा चार्ल्स तृतीय संयुक्त अधिराज्यका साथै क्यानाडादेखि लिएर अस्ट्रेलिया र जमैकासम्म १४ अन्य राष्ट्रमण्डल मुलुकको प्रमुख छन् । उनको कार्य अनिवार्यरूपमा औपचारिक हुन्छन् र उनले राजनीतिक बहसमा हस्तक्षेप गर्दैनन् ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजामा चार महिनाभन्दा धेरै समयदेखिको अथक लडाइँले तटीय क्षेत्रका अधिकांश भाग नष्ट गरेको छ । त्यहाँ २२ लाख जनता भोकमरीको छेउमा पुगेका छन् र तीन–चौथाई जनसङ्ख्या विस्थापित भएका छन् ।