पाकिस्तानमा निर्वाचनलक्षित बम विस्फोट, कयौंको मृत्यु


बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा विष्फोटको घटना भएको हो ।

पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो । दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ।

त्यसमा परी आठ जनाको मृत्यु भयो। दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन् । पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ । पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। पिशिन प्रान्तीय राजधानी क्वेटाबाट ५० किलोमिटर टाढा र अफगान सीमाबाट १०० किलोमिटर दक्षिणपूर्वमा छ ।

त्यहाँ २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दोस्रो विस्फोटनबारे विस्तृत विवरण आउन बाँकी छ। एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचारसंस्थालाई दिएको जानकारीअनुसार जिल्लाहको मुख्य बजारमा विस्फोटन भएको थियो।

त्यसको निसानामा जेयूआई–एफ पार्टीको चुनावी अभियान सञ्चालन गर्ने कार्यालय थियो । निर्वाचनको मुखमा गत साता बलोचिस्तान र खैबर पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन्। यद्यपि बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि बढ्ने बताएको छ।