भारतको सबैभन्दा लामो समुद्री पुल ‘अटल सेतु’ को उद्घाटन


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार महाराष्ट्रमा भारतको सबैभन्दा लामो पुल अटल बिहारी वाजपेयी सेवारी–न्हवा शेवा अटल सेतुको उद्घाटन गरेका छन् ।

अटल सेतु भारतको सबैभन्दा लामो सामुद्रिक पुल पनि हो । यसले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल र नवी मुम्बई अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो कनेक्टिभिटी प्रदान गर्नेछ ।

साथै मुम्बईबाट पुणे, गोवा र दक्षिण भारतसम्मको यात्राको समयलाई पनि कम गर्नेछ । पुलको शिलान्यास पनि सन् २०१६ डिसेम्बरमा प्रधानमन्त्री मोदीले नै गरेका थिए ।

अटल सेतुको निर्माण कूल १७ हजार आठ सय ४० करोड भारतीय रुपैयाँभन्दा धेरै लागतमा गरिएको हो । यो २१ दशमलव आठ किलोमिटर लामो र ६ लेन भएको पुल हो ।

यसको लम्बाई समुद्रमाथि करिब १६ दशमलव पाँच किलोमिटर र जमिनमा करिब पाँच दशमलव पाँच किलोमिटर छ । यसबाट मुम्बई बन्दरगाह र जवाहरलाल नेहरु बन्दरगाहबीचको कनेक्टिभिटीमा पनि सुधार हुने बताइएको छ ।