नभाल्नी ‘बेपत्ता हुनु’ ले संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ चिन्तित


 

संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले  रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उनलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गरेका छन् ।

क्रेमलिनका आलोचक नभाल्नीका वकिलहरूलाई डिसेम्बर ६ देखि उनीसँग भेट्न रोकिएको छ । साथै गत शुक्रबारको निर्धारित अदालतको सुनुवाइका लागि उनी उपस्थित भएनन् ।

“रुसी अधिकारीहरूले यति लामो समयसम्म नभाल्नीको ठेगाना र स्वास्थ्यबारे सार्वजनिक नगरेकामा मलाई धेरै चिन्ता भएको छ, यो जबरजस्ती बेपत्ता पारिएको समान हो”, रुसमा राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी विशेष  प्रतिवेदक मारियाना काटजारोभाले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि काँडा बनेका ४७ वर्षीय नभाल्नीलाई विष दिएर हत्याको प्रयासमा बाँचेपछि सन् २०२१ मा चरमपन्थीको आरोपमा १९ वर्षको कारागार सजाय दिइएको थियो ।

नभाल्नीलाई डिसेम्बर ११ मा मस्को नजिकैको भ्लादिमिर क्षेत्रबाट हटाएर अज्ञात स्थलमा लगिएको जानकारी नभाल्नीको टोलीलाई शुक्रबार बताइएपछि आफूले रुसी अधिकारीहरूसमक्ष चिन्ता व्यक्त गरेको काटजारोभाले बताए । उनका अनुसार नभाल्नीका परिवार र वकिलहरूले सबै दण्डित कोलोनीलाई उनको ठेगाना पहिचान गर्न पत्र पठाएका थिए ।

“नभाल्नी ओम्स्क दण्डित कोलोनीमा हुनसक्ने उनीहरूलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ तर पछि त्यो जानकारी अस्वीकार गरियो”, उनले उनले भने । यस वर्षको प्रारम्भमा एक अदालतले नभाल्नीलाई कठोर कारागारमा सार्ने आदेश दिएको थियो ।

नभाल्नीलाई दोषी ठहर गर्ने चरमपन्थीका आरोपहरू ‘निराधार’ रहेको भन्दै काटजारोभाले बन्दीहरूले यातायातका क्रममा गम्भीर अधिकार उल्लङ्घनको उच्च जोखिमको सामना गर्ने चेतावनी दिए ।