गाजामा प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय निकायमा एकसय कर्मचारीको मृत्यु


प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना एकसय भन्दा बढी कर्मचारीको मृत्यु भएको बताएका छन् ।

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना एकसय एकजना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ । उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताएका छन् । करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो ।

इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा परी एक हजार ४ सयभन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो । हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली प्रत्याक्रमणमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेको बताएको छ ।