म्यान्माको जुन्ता सरकारविरुद्ध मुलुकको उत्तरी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएका त्यहाँका जातीय सशस्त्र समूहहरूले थप केही चौकीमाथि कब्जा गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यसै साता चीनको सीमा नजिक शान राज्यको ठूलो हिस्सामा लडाइँ बढेको छ । लडाइँका कारण २३ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले दर्जनौँ चौकी र चार सहर कब्जा गर्नुका साथै चीन जाने महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध पारेको बताएका छन् ।
टिएनएलएका लडाकूहरूले शनिबार उत्तरी शान राज्यको सबैभन्दा ठूलो सहर तथा सेनाको पूर्वी कमान्डको घर लासियो नजिकै सैन्य समर्थक मिलिसियाले नियन्त्रण लिएको दुई चौकीलाई कब्जामा लिएका छन् ।
टिएनएलएले नम्हकममा करिब चार घन्टाको दुरीमा अग्रता कायम गरेको छ । एमएनडिएएले उसले पूर्वमा तीन सैन्य चौकी कब्जामा लिएको बताएको छ । जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामाथि गोलाबारी गरेको बताएको छ ।

प्रतिक्रिया