इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ । इजिप्टको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो ।
इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्याउन इजिप्टले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।
गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताए ।
इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामा हालै इजरायलले गाजामा गरेको घेराबन्दी सुरु भएयता पहिलो पटक बुधबार सयौं विदेशी राहदानीधारी र दशौं घाइते प्यालेस्टिनीलाई गाजाबाट इजिप्टका अस्पतालमा उपचार गर्न ल्याइएको छ ।

प्रतिक्रिया