फ्रान्सका राष्ट्रपति म्याक्रोन इजरायल भ्रमणमा जाने


फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल भ्रमण गर्ने भएका छन् । इजरायलमा हमास समूहले गरेको घातक हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १४ सय इजरायलीको हत्या भएको छ भने करिब २ सय जनालाई अपहरण गरिएको छ । हमासले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखापरेका थिए ।

भिडियो सार्वजनिक भएपछि म्याक्रोनले उनको तत्काल निःशर्त रिहाईको माग गरेका छन् । यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए । इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।