युक्रेनको एक श्रद्धाञ्जली सभामा रूसी आक्रमण, कम्तिमा ५१ जनाको मृत्यु


युक्रेनको पूर्वी गाउँमा भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको र भग्नावशेषबाट कैयौँ शव उद्धारकर्मीले लगेको देखिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्बिर पोस्ट गरेका छन् । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतक गाउँलेको सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा एक छ वर्षीय बालकदेखि विभिन्न उमेरसमूहका मानिस रहेका छन् । अग्रस्थानमा रहेको शहर कुपियान्स्कबाट ग्रोजा ३० किलोमिटरभन्दा बढी दूरीमा अवस्थित छ जहाँ युक्रेनी सेनाले रूसी सेनासँगको लडाईमा गत वर्ष गुमाएको क्षेत्र फिर्ता लिन प्रयास गरिरहेको छ ।