माल्दिभ्सका नेता इब्राहिम मोहम्मद सोलिहले हिन्द महासागरको द्वीपसमूह राष्ट्र (माल्दिभ्स)मा शनिबार सम्पन्न राष्ट्रपतीय निर्वाचनलाई ‘सबैभन्दा स्वतन्त्र र निष्पक्ष’ भएको दावी गरेका छन् । सोलिहले यस निर्वाचनमा आफुलाई अर्को कार्यकालका लागि अनुमोदन गराउन प्रतिस्पर्धामा उभ्याएका छन् ।
परम्परागत हितैषी भारतसँग नयाँ सम्बन्धको खोजीमा रहेको माल्दिभ्सले यो निर्वाचनलाई जनमत संग्रहको रूपमा हेरेको उनको दावी छ । उनको पाँच बर्षे कार्यकालमा माल्दिभ्सलाई पूर्व राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल्ला गयूमको पालामा चीनपरस्त बनेको र आर्थिक विकासका लागि कामहरू गर्न नसकेको कुरालाई केन्द्रमा राख्दै भारतीय सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेका थिए ।
हिन्द महासागरमा करिब ८०० किलोमिटर (५०० माइल) लामो क्षेत्रमा लाइनमा छरिएर रहेका एक हजार १९२ कोरल टापु (माल्दिभ्स)को शीर्ष पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले दिनभर आठ घण्टामा औपचारिक रूपमा मतदान सम्पन्न भए पनि मतदानका लागि लाइनमा बसेकालाई त्यसपछि पनि मतदान गर्न अनुमति दिइएको जनाएको छ । विगतका मतदानहरूमा हिंसात्मक झडपका साथै व्यापक मतदान धाँधलीको आरोप लगाइएको थियो, तर त्यहाँ कुनै पनि हिंसा वा धाँधलीको तत्काल रिपोर्टहरू आएका छैनन् ।
निर्वाचनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । ६१ वर्षीय सोलिह र उनका मुख्य प्रतिद्वन्द्वी मालेका मेयर मोहम्मद मुइज्जुले राजधानी मालेमा मतदान गरेका थिए । उनले चुनावी अभियान पनि निकै सहज रुपमा अघि बढेको र माल्दिभ्समा अभूतपूर्व शान्ति रहेको दावी गरे ।
पूर्व राष्ट्रपति मौमून अब्दुल गयूमका छोरा निर्वाचनमा विपक्षी उम्मेदवार हुन् । माल्दिभियाली डेमोक्रेटिक पार्टी (एमडीपी) को रङ पहेँलो टिसर्ट र टोपी लगाएका सोलिहले शुक्रबार मालेमा आयोजित विशाल सभालाई सम्बोधन गरेका थिए । गत डिसेम्बरमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि यमीन ११ वर्षको जेल सजाय पूरा गर्न जेलमा छन् ।
राष्ट्रपति सोलिहका मुख्य प्रतिद्वन्द्वी ४५ वर्षीय मुइज्जु जेलमा रहेका विपक्षी नेता तथा पूर्व राष्ट्रपति अब्दुल्ला यमिनका प्रतिनिधि छन् । माल्दिभ्सका दोषी कैदीहरूले पनि मतदान गर्न पाउँछन् तर यमीनले आफ्नो उच्च सुरक्षा जेलमा मतदानका लागि नाम दर्ता गरेनन् । मतदानका लागि पाँचवटा मतपेटिका कारागारमा पनि राखिएको थियो ।
अधिकारीहरूले यो सङ्ख्या दुई लाख ८२ हजार मतदातामध्ये ८० देखि ९० प्रतिशतले मतदान गर्ने अनुमान गरेका छन् । सोलिहले सन् २०१८ को अघिल्लो चुनावमा ५८.३ प्रतिशत मत प्राप्त गरेका थिए तर यस पटक उनको पार्टी विभाजित भएको छ । निर्वाचन अधिकारीहरुले आइतबार अबेरसम्म मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको बताएका छन् ।
यदि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सेप्टेम्बर ३० मा दोस्रो चरणको निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । नयाँ नेतृत्व चयनका लागि दक्षिणी भारतीय राज्य केरलाको त्रिवेन्द्रम, मलेसिया, श्रीलङ्का, बेलायत र संयुक्त अरब इमिरेट्सको राजधानीसहित माल्दिभ्सको ठूलो जनसङ्ख्या भएको विदेशी स्थानहरूमा पनि मतदान भएको छ ।

प्रतिक्रिया