अमेरिकासँगको ‘चिपयुद्ध’ चर्किँदै जाँदा चीनले सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक दुईवटा पदार्थ निर्यातमा कडाइ गर्न थालेको छ । निर्यातमा नियन्त्रण गर्ने निर्णयपछि अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने छ।
चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिन्छ । ग्यालिअम र जर्मेनिअम विद्युतीय चिप र सैन्य उपकरणहरू उत्पादन गर्न प्रयोग हुन्छन् । वाशिङ्टनले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पारिदिन थालेपछि चीनले यस्तो कदम चालेको हो । चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
यससम्बन्धी उद्योग हेर्ने एउटा निकाय क्रिटिकल रअ मटेरिअल्स अलाइअन्स (सीआरएमए) का अनुसार चीनले विश्वमा प्रयोग हुने ८० प्रतिशत ग्यालिअम र ६० प्रतिशत जर्मेनिअम उत्पादन गर्छ । यी सामग्रीहरू ‘माइनर धातु’ हुन्। अर्थात् ती प्रायः विशुद्ध रूपमा पाइँदैनन् र अरू रासायनिक प्रक्रियाबाट सहोत्पादनका रूपमा तिनलाई निकालिन्छ ।
अमेरिका र जापानसँगै प्रमुख चिप उपकरण निर्माता एएसएमएल रहेको द नेदरल्यान्ड्सले पनि चीनमा चिप प्रविधिको निकासीमा प्रतिबन्धहरू लगाएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्कासँग जस्तालाई त्यस्तै व्यवहार गर्दा स्रोत राष्ट्रवादको बढ्दो चिन्तालाई अझ बढाइदिएको छ।

प्रतिक्रिया