पुटिन युक्रेनसँग वार्ता गर्न तयार


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन् । सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए ।

राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन् । युक्रेन र रुस दुवैले यसअघि केही पूर्वसर्तहरू पूरा नभइ वार्ताको टेबलमा नआउने बताएका थिए ।

युक्रेन आफ्नो सिमाना सन् १९९१ का बेलामा जस्तै पुनर्स्थापित होस् भन्ने चाहन्छ भने त्यसप्रति क्रेम्लिनको गहिरो विरोध रहँदै आएको छ । त्यसको साटो वार्ताका लागि किएभले आफ्नो देशको ‘नयाँ भौगोलिक वास्तविकता’लाई स्वीकार गर्नुपर्ने अडान मस्कोले राख्दै आएको छ ।

पुटिनले शनिबार अबेर राति पत्रकार सम्मेलनमा युक्रेनी अग्रमोर्चामा तत्काल कारबाहीको कुनै योजना नभएको बताए । उनले क्रेम्लिनको आलोचना गर्नेहरूलाई गिरफ्तार गरिएको भन्ने आरोपको पनि खण्डन गरे र केही व्यक्तिहरूले रुसलाई भित्रबाटै हानी पुर्याइरहेको बताए।