अफगानिस्तानमा सैलुनहरु बन्द गर्न तालिबानको आदेश


तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालयमा प्रवेशमा रोक लगाएको छ । उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए । अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान कब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।