कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दलले जित हासिल गरेको दाबी


कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले आइतबार भएको आम निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ताले बताएका छन् ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको बताए । राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ ।