जीवाश्म इन्धन प्रयोग कम गर्ने बिषयमा जी–२० राष्ट्रका ऊर्जा मन्त्रीहरूबीच मतभेद


भारतमा सम्पन्न जी–२० का ऊर्जा मन्त्रीहरू विश्वव्यापी ऊर्जा मिश्रणमा जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा कम गर्ने मार्ग तय गर्ने लक्ष्यमा सहमति जुटाउन असफल भएका छन् ।

बैठकपछि जारी गरिएको वक्तव्यमा विश्व तापक्रम वृद्धिमा ठूलो योगदान गर्ने कोइलाबारे उल्लेख गरिएको छैन । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनजस्ता धेरै विकासशील अर्थतन्त्रका लागि फोहोर इन्धन ऊर्जाको प्रमुख स्रोत पनि हो ।

गत मे महिनामा हिरोसिमामा जी–७ का नेताहरूले ‘जीवाश्म इन्धनको चरणबद्ध अन्त्यलाई तीव्रता दिन र विश्वव्यापी तापक्रमले कीर्तिमानी उचाईमा पुगेको, बाढी, आँधीबेहरी र तातो हावालाई नियन्त्रण गर्ने सहमति गरेपनि गोवामा सम्झौतामा पुग्न असफल भएको थियो । जी–२० का अध्यक्ष रहेको भारतका अनुसार केही सदस्यले विभिन्न राष्ट्रिय परिस्थितिअनुसार जीवाश्म ईन्धनको चरणबद्ध अन्त्यको मागमा जोड दिएका छन् ।

जर्मनी र फ्रान्स लगायत प्रमुख ईयू अर्थव्यवस्थाहरूको गठबन्धन र केही सबैभन्दा कमजोर टापु राज्यहरूले यसै हप्ता जी–२० लाई शुद्ध शून्य उत्सर्जनमा पुग्ने र जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने योजनालाई तीव्रता दिन आग्रह गरेका थिए ।

तर धेरै विकासशील अर्थतन्त्रहरूले विकसित पश्चिमले बढी प्रदूषक र हरितगृह योगदानकर्ताको रूपमा बढी पैसा तिर्नुपर्छ भन्ने तर्क गरिरहेका छन् । भारतले अन्य धेरै देशले गरेको प्रतिबद्धताभन्दा २० वर्षपछि सन् २०७० सम्ममा शून्यमा पुग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।