रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दावी गरेका छन् ।युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो ।
एक टेलिभिजन अन्तरवार्तामा पुटिनले आक्रमण सुरु भएदेखि नै उनीहरू सफल नभएका बताए । यूक्रेनले शुक्रवार रूसी सेनासँगको लडाईं कठिन अवस्थामा रहेको बताएको थियो ।
युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येरमाकले प्रतिकार अपेक्षित छिटो अघि नबढेको बताए । कीभका अनुसार गत एक हप्तामा उसका सेना दक्षिणी मोर्चामा करिब दुई किलोमिटर अघि बढेका छन् ।
युक्रेनी सेनाले मेलिटोपोल र बर्दयान्स्कतर्फ आक्रामक अभियान सञ्चालन गरिरहेको जनाएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता प्रतिज्ञा गरिएका हतियारहरूको ढिलो वितरणले कीभको प्रतिआक्रमणमा ढिलाइ भइरहेको बताएका थिए । उनले अमेरिका र अन्य सहयोगीहरूलाई लामो दूरीका हतियार र तोपखाना प्रदान गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया