विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि


गत सोमबार विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका छन् । अमेरिकाका सरकारी वैज्ञानिकहरूले विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएका हुन् ।

उनीहरूले नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन्। सोमबारको तापमानले यसअघि सन् २०१६ मा कायम भएको सर्वाधिक तापमानको कीर्तिमान तोडेको छ ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा हालै चलेको गर्मीको लहरबाट अवस्था प्रभावित भएको छ। अनुसन्धाताहरूले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानेका छन् ।

कतिपयले उक्त जलवायु अवस्था र मानवजातिले निरन्तर गरिरहेको कार्बन डाइअक्साइड उत्सर्जनको संयोजनले तातो बढाएको बताएका छन् । इम्पेरियल कलेज लन्डनका एक जना वैज्ञानिक फ्रेड्रिक ओटोले विश्व तापमानको नयाँ अवस्थालाई मानिस र पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजाय रहेको बताए ।

गत महिना विश्वमा हालसम्मकै सबैभन्दा गर्मी जून महिना भएको पनि पुष्टि गरिएको छ । जुलाई ३ तारिखमा विश्वको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको यूएस नेशनल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्सनका वैज्ञानिकहरूले बताएका छन् । यसले अगस्ट २०१६ मा १६.९२ डिग्री सेल्सियससहित विगतमा कायम कीर्तिमान तोडेको उनीहरूको भनाइ छ । यस वर्षको सुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् ।