सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ ।
‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।’
सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।
गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शङ्कास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले हरेक दिन दादुराको शङ्कास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।’
गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज –आरएसएफ) बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय –आइओएम) को तथ्याङ्कअनुसार करिब २८ लाख मानिस पलायन भएका छन् ।

प्रतिक्रिया