फ्रान्सको पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलबार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ । १७ वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो ।
घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन् । मृतक अल्जेरिअन मूलका हुन् र उनको मृत्युले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको छ ।
यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। बिहीबार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्यालीमा पनि झडप भएको थियो ।
उनी ‘टेकअवे खाना’ पुर्याउने गाडी चलाउँथे र रग्बी लिगका खेलाडी समेत थिए । उनको शैक्षिक पृष्ठभूमि व्यवस्थित थिएन। उनी आफू बस्ने ठाउँबाट नजिकै एक कलेजमा इलेक्ट्रीशियन बन्ने तालिमका लागि भर्ना भएका थिए तर निकै कम उपस्थित हुन्थे ।
प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको जनाएको छ । दङ्गा नियन्त्रणका लागि शुक्रबार साँझसम्ममा ४५ हजार प्रहरी अधिकारीहरूलाई तैनाथ गरिएको थियो ।
सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न आह्वान गरेको थियो। त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन भनिएको छ । फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनका अनुसार दङ्गाको चौथो रातमा अशान्तिका कारण आर्थिक तथा अन्य गतिविधिमा असर परेको छ।

प्रतिक्रिया