अमेरिकी राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ तानाशाह भएको बताएका छन् । विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनको यस्तो टिप्पणी आएको हो ।
सीले बेइजिङमा केही प्रगति भएको बताएका थिए भने ब्लिङ्कनले दुवै पक्ष थप वार्ताका लागि खुला रहेको सङ्केत गरेका थिए । चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन । मङ्गलवार राति भएको एउटा चन्दा सङ्कलन कार्यक्रममा राष्ट्रपति बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताए ।
उनले भने,’सी जिनपिङ धेरै दुःखी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा दुई बाकस जासुसी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन । जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हुन्छ।’
ब्लिङ्कनको बेइजिङ यात्रा करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनमा गरेको पहिलो भ्रमण थियो । तर उनले दुवै पक्षबीच कैयौँ फरकपन रहेको बताएका थिए । वाशिङटन र बेइजिङ लामो समयदेखि व्यापार, मानवअधिकार र ताइवानलगायतका विभिन्न मुद्दाहरूमा उल्झिदैँ आएका छन्।

प्रतिक्रिया