रुसविरुद्ध युक्रेनी प्रत्याक्रमण सुरु भइसकेको जेलेन्स्कीको भनाइ


राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन् । उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’

तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन् । ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ आएका हुन् ।

युक्रेनी फौजहरू देशको पूर्वमा बक्मुत नजिकै र दक्षिणतर्फ जापोरिज्या नजिकै अगाडि बढिरहेको बताइएको छ । उनीहरूले रुसी निशानामा लामो दूरीको क्षेप्यास्त्र हमलाहरू समेत गरिरहेको बताइएको छ । तर अग्रमोर्चाको वास्तविकताको आकलन गर्ने काम जटिल छ ।

युद्धरत दुवै पक्षले परस्पर विरोधी विवरण दिइरहेका पाइन्छन्ः युक्रेनले प्रगति गरिरहेको दाबी गरेको छ र रुसले हमलालाई परास्त गरिरहेको जनाउँछ । मस्को नजिकैको रुसको कलुगा क्षेत्रका गभर्नरले टेलिग्राममा लेख्दै स्ट्रेलकोभ भन्ने गाउँमा आइतवार बिहानै एउटा ड्रोन दुर्घटना भएको लेखेका छन् ।

शुक्रबार प्रसारित एक भिडियो अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी फौजले प्रत्याक्रमण सुरु गरे पनि अगाडि बढ्ने प्रयासहरू धेरैजनाको हताहतीबिच असफल भएको बताएका छन् । शनिबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग वार्ता गरेपछि किएभमा बोल्दै जेलेन्स्कीले रुसी नेताका शब्दलाई “रोचक“ बताए।