पाकिस्तानले भारतको नयाँ संसद भवनमा पाकिस्तानी भूभागसमेत समेटको अखण्ड भारत मुराल राखिएकोप्रति आपत्ति जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारतको कदमप्रति आपत्ति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले नयाँदिल्लीको नयाँ संसद भवनमा भित्तेचित्र जडान गरिएको समाचार देखेका छौं । भित्तेचित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको छ, जसमा अहिले पाकिस्तान र अन्य क्षेत्रीय देशहरूको केही भागहरू समावेश छन्। एक केन्द्रीय मन्त्रीसहित भाजपाका केही राजनीतिज्ञले भित्तेचित्रलाई ’अखण्ड भारत’ (एकीकृत बृहत्तर भारत) सँग जोडेर दिएको अभिव्यक्तिले हामी स्तब्ध भएका छौं । ‘अखण्ड भारत’ को अनावश्यक दाबी एक संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले भारतका छिमेकी देशहरूको मात्र होइन तर आफ्नै धार्मिक अल्पसंख्यकहरूको पहिचान र संस्कृतिलाई पनि अधीनमा राख्न खोज्छ।’
उसले यो गम्भीर चिन्ताको विषय भएको भन्दै अखण्ड भारतको विचारलाई भारतमा सत्ताधारी व्यवस्थासँग सम्बन्धित व्यक्तिहरूद्वारा बढ्दो रूपमा प्रचार गरिएको उल्लेख गरेको छ ।
उसले भनेको छ, ‘यो गम्भीर चिन्ताको विषय हो कि अखण्ड भारतको विचारलाई भारतमा सत्ताधारी व्यवस्थासँग सम्बन्धित व्यक्तिहरुद्वारा बढ्दो रूपमा प्रचार गरिएको छ। भारतीय राजनीतिज्ञहरूलाई आफ्नो विभाजनकारी र संकीर्ण राजनीतिक एजेन्डालाई अगाडि बढाउनका लागि मात्र अन्य देशहरूविरुद्ध बयानबाजी नगर्न सल्लाह दिइन्छ। आधिपत्यवादी र विस्तारवादी महत्वाकांक्षालाई प्रश्रय दिनुको साटो भारतले आफ्ना छिमेकीहरूसँगको विवाद समाधान गर्नुपर्छ र उनीहरूसँग मिलेर शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्नुपर्छ ।’
भारतले केही दिनअघि नेपालको लुम्बिनी, कपिलवस्तु तथा पाकिस्तानको तक्षशिलाको नाम राखेर नयाँ संसद भवनमा मुराल राखेको छ ।

प्रतिक्रिया