क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना


क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले विज्ञप्ति जारी गरी जनाएको छ ।

क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।

‘यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ ।’ साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ । सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेकोे थियो ।