दक्षिण अफ्रिकाले रुसलाई हतियार तथा गोलीगठ्ठा सहयोग गरेको अमेरिकी राजदूतको आरोप


दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतले युक्रेन द्वन्द्वमा तटस्थ रहने घोषणा विपरीत रुसलाई हतियारहरू आपूर्ति गरेको आरोप लगाएका छन् । रुबेन ब्रिगेटीले गत डिसेम्बरमा हतियार तथा गोलीगठ्ठाले भरिएको रुसी पानीजहाज केप टाउनमा देखिएको बताए ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले आफू उक्त दाबी प्रति दुःखी भएको जनाउँदै त्यसलाई पुष्टि गर्ने आधार प्रदान नगरिएको जनाएको छ । दक्षिण अफ्रिकाले युक्रेन अतिक्रमणको मुद्दामा तटस्थता दाबी गर्दै आएको छ ।

प्रिटोरियामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजदूत ब्रिगेटीले द्वन्द्वलाई लिएर दक्षिण अफ्रिकाले व्यक्त गरेको असंलग्नताको नीतिप्रति वासिङटनको चासो रहेको बताए । सिमोन्स टाउन जलसेना शिविर नजिकै गएको डिसेम्बर ६ देखि ८ को बीचमा एउटा मालवाहक पानीजहाज रोकिएको प्रसङ्ग उल्लेख गर्दै उनले रुसतर्फ जानुअघि त्यसमा हातहतियार र गोलीगठ्ठा भरिएकोमा आफू ‘विश्वस्त’ रहेको बताए ।

लेडी आर नामक सो पानीजहाजको उपस्थितिलाई लिएर त्यसबेला जिज्ञासाहरू उठेका थिए र कतिपय स्थानीय नेताहरूले त्यसबारे प्रश्न पनि गरेका थिए । उनले लगाएको आरोपले दक्षिण अफ्रिकाको सत्तापक्षलाई आश्चर्यमा पारिदिएको छ ।

उक्त आरोपपछि दक्षिण अफ्रिकाको सरकारले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र जाँच निकाय गठन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्। वासिङटनले युक्रेन हमलाको वर्षगाँठको समयमा रुस र चीनसँग भएको सैन्य अभ्यासमा सहभागी हुने दक्षिण अफ्रिकाको कदमप्रति पनि चिन्ता जनाएको थियो।