बाढीमा परी रुवान्डामा एक सयभन्दा बढीको मृत्यु


उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको छ । मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ ।

‘हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्कअनुसार १०९ जनालाई मृत घोषित गरिएको छ ।’ बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ ।

‘बर्षापछि आएको बाढीले गर्दा ठाउठाउमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन् । बाढीले बगानहरू पनि बगेका छन् । हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ,’ उत्तरी प्रान्तकी एक बाढीपिडित महिलाले आरबीएसँग भने ।