अस्ट्रेलियाले ५ सय किलोमिटर टाढा मार हान्ने क्षेप्यास्त्र खरिद गर्ने


अस्ट्रेलियाले चीनबाट बढ्दो खतराको सामना गर्न लामो दूरीको क्षेप्यास्त्र खरिद् गर्ने प्रयासलाई तीव्र बनाउने भएको छ । अस्ट्रेलियाले भौगोलिक रूपमा एक्लिएको भए पनि क्षेप्यास्त्रको युगमा सुरक्षित रहन नसक्ने चेतावनी समेत दिएको छ ।

सरकारले समीक्षा प्रतिवेदनले सिफारिस गरेका केही सुविधा तत्काल उपलब्ध गराउन एक करोड नब्बे लाख अस्ट्रेलियन डलर खर्च गर्नेछ । ११० पृष्ठ लामो अध्ययनलाई दोस्रो विश्वयुद्ध पछि अस्ट्रेलियाली रक्षाको सबैभन्दा ठूलो परिमार्जनको रूपमा व्याख्या गरिएको छ ।

द डिफेन्स स्ट्राटेजिक रिभ्यू (डीएसआर), ताइवानबारे चीनको अडान, बढ्दो क्षेत्रीय तनाव र आवश्यक परे बल प्रयोग गर्ने पटक पटकको धम्कीबिच आएको हो । चिनियाँ नौसेनाले साउथ चाइना सीमा आफ्नो व्यापक उपस्थिति स्थापित गरेको छ र अन्तर्राष्ट्रिय कानुन उलङ्घन गर्दै यसको केही भागलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ ।

प्रतिवेदनमा भनिएको छ,’चीनको सैन्य विस्तार दोस्रो विश्वयुद्धको अन्त्य पछि कुनै पनि देशको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वाकाङ्क्षी हो। यो वृद्धि इन्डो–प्यासिफिक क्षेत्रमा चीनको रणनीतिक उद्देश्यको पारदर्शिता वा आश्वासन बिना भइरहेको छ ।’

प्रधानमन्त्री एन्थोनी अल्बानीजले रक्षा समीक्षाले ‘भविष्यले हामीलाई आकार दिनका लागि पर्खनुको साटो हामीले भविष्यलाई आकार दिने’ र यसमा गरिएका सिफारिसहरूले अस्ट्रेलियालाई ‘अधिक आत्मनिर्भर, थप तयार र थप सुरक्षित’ बनाउने बताएका छन् ।

यसले अस्ट्रेलियाको सशस्त्र बलहरूलाई उनीहरूको ध्यान भूमि केन्द्रित सुरक्षा अस्त्रहरूको सट्टा ‘अस्ट्रेलियामा निर्मित लामो दूरीमा प्रहार गर्न सक्ने क्षमता सहितका अस्त्रहरू’मा केन्द्रित गर्न सिफारिस गरेको रक्षा मन्त्री रिचर्ड मार्ल्सले बताए ।

उनले ५०० किलोमिटर भन्दा बढी दायरा भएका ‘सही निसाना प्रहार गर्न सक्ने क्षेप्यास्त्र’ को अधिग्रहणले सेनालाई ‘भविष्यमा आवश्यक आक्रमण क्षमता र गतिशीलता’ दिने बताए ।

सन् २०२२ को एक विज्ञ समूहको प्रतिवेदनले अस्ट्रेलियाली सेनाका लागि ‘सबैभन्दा नराम्रो अवस्था’ को चेतावनी दिएको थियो जसमा चीनले ताइवानमाथि सम्भावित युद्धको क्रममा नजिकैको क्षेत्रको नियन्त्रण लिनसक्ने उल्लेख गरिएको थियो।