बेलायतका राजा चाल्र्स तृतीय बुधबार जर्मनीको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उनका साथ रानी क्यामिला पनि हुनेछिन् ।
यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भएको थियो ।
बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिलाएल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ स्वागत गर्ने कार्यक्रम छ ।
बेलायतका राजदम्पतिलाई जर्मनीका नागरिकले ब्रान्डनबर्ग गेटमा स्वागत गर्नेछन् । एक हजार पाँच सय दर्शक अट्नसक्ने उक्त स्थानमा बेलायतका राजारानीलाई प्रत्यक्ष भेट्ने चाहनेलाई बेलैमा उक्त गेटमा आउन सुझाव दिइएको छ ।
नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लागेका हुन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् ।
महारानी एलिजाबेथले सन् १९६५ मा जर्मनीको औपचारिक भ्रमण गरेकी थिइन् । पूँजीवादी पश्चिम र कम्युनिष्ट पूर्वजर्मनी विभाजित भएका बेला भएको उक्त भ्रमणलाई पारस्परिक मेलमिलापका रूपमा लिइएको थियो ।
राजा चाल्र्सले बिहीबार चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यसअघि राजदम्पति बेल्लेभ्यु प्यालेसमा आयोजना हुने रात्रिभोजमा सहभागी हुनेछन् ।
राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । जर्मन संसद्लाई सम्बोधन गर्ने उनी पहिलो सम्राट हुनेछन् ।
साथै उनले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया