हिन्दूधर्मको अपमान गरेको आरोपमा पाकिस्तानमा एक पत्रका पक्राउ


पाकिस्तानको सिन्ध प्रान्तमा प्रहरीले हिन्दू धर्मावलम्बीहरूका देवता हनुमानको अपमान गरेको आरोपमा निन्दासम्बन्धी कानुन अन्तर्गत एक पत्रकारलाई पक्राउ गरेको छ । यस विषयमा मिरपुरखासस्थित ’स्याटलाइट’ प्रहरी चौकीमा उजुरी दर्ता भएको छ।

उजुरीकर्ता रमेश कुमारले आफू लुहाना पञ्चायत मिरपुरखासको उपाध्यक्ष भएको बताएका छन् । मार्च १९ मा आफ्ना साथीहरूसँग रहँदा असलम बलोच नामक स्थानीय पत्रकारले आफ्नो फेसबुक पेज र ह्वाट्सएप ग्रुपमा भगवान् हनुमानको तस्बिर सेयर गरेको देखेको उनको दाबी छ ।

हनुमानको उक्त तस्बिर सेयर गरेर अस्लम बलोचले आफू र उनीजस्ता अन्य हिन्दूहरूको धार्मिक आस्थामा चोट पुर्याएको रमेश कुमारले जाहेरीमा उल्लेख गरेका छन्।

बलोचले धर्महरूबीच शत्रुता फैलाउने र कानुनी व्यवस्था बिगार्ने प्रयास गरेको उनको दाबी छ । प्रहरी चौकीले सोही उजुरीको आधारमा असलम बलोचविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ ए र १५३ ए अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

पाकिस्तान दण्ड संहिताको धारा २९५ ए मा दुई धर्मका बीचमा वैरभाव फैलाउने प्रयास गर्नेहरूलाई सजाय दिइने प्रावधान छ। त्यस्तै धार्मिक आस्थामा चोट पुर्याएको खण्डमा १० वर्षसम्म कैदको व्यवस्था छ।