आसाममा भीषण आगलागी, २५० पसल जलेर नष्ट
भारतको उत्तरपूर्वी राज्य आसामको एक बजारमा भएको आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन ।
आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा शुक्रबार आगलागी भएको हो ।
अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो ।
प्रारम्भिक अनुसन्धानले एउटा पसलमा विद्युत सर्ट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो । आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।