म्यान्माको सैनिक सरकारले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको छ ।
करिब दुई वर्षअघि भएको सैन्य ‘कू’ले लामो समयदेखि स्थापित जातीय विद्रोही समूहका साथै जुन्ताको विरोधमा खडा भएका दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्स’ समूहसँग नयाँ चरणको लडाइँ सुरु गरेको छ ।
म्यान्माको पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ)’ को मुख्यालयमा मङ्गलबार गरेको आक्रमणमा पाँच लडाकूको मृत्यु भएको सीएनएफका प्रवक्ता सलाई तेतनीले बताएका छन् ।
“उनीहरूले हवाइ आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेका थिए । हवाई आक्रमणबाट हाम्रा केही घरहरू ध्वस्त भए । एउटा बम भारतसँगको सीमा रेखामा खसेको थियो,” उनले भने ।
स्थानीय सञ्चारमाध्यमले पनि घटनाको पुष्टि गर्दै पाँच जना लडाकू मारिएका र एउटा बम भारतको मिजोरम राज्यको चम्फाई जिल्लामा खसेको जनाएका छन् ।
तर भारतीय प्रहरीका अनुसार उक्त बम सोझै सुख्खा नदीको किनारमा खसेको थियो ।
चम्फाई जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट लालरिनपुइया भार्तेले भने, “हाम्रो प्रारम्भिक अनुसन्धानमा कुनै पनि (भारतीय)को जीवन वा सम्पत्तिको क्षति नभएको देखिएको छ ।.अन्तर्राष्ट्रिय सीमाबाट करिब आठदेखि नौ किलोमिटरको दूरीमा रहेको फर्कोन गाउँबाट घटना भएको स्थानको सबैभन्दा नजिक पर्छ ।”
हालैका वर्षहरूमा सीएनएफका लडाकुहरू घटेका छन् र उसले सन् २०१५ मा सेनासँग युद्धविरामका लागि हस्ताक्षर गरेको थियो ।
तर गत वर्ष मे महिनामा उसले आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरूको बाहुल्यरहेको छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले जितेको चुनावमा धाँधली भएको दाबी गर्दै सैनिक नेता मिन आङ ह्लाइङले आफ्नो सत्ता कब्जालाई जायज भएको दावी गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष रहेको बताएका थिए ।

प्रतिक्रिया