आफ्नो देशका यात्रुको आगमनमा प्रतिबन्ध लगाउने पश्चिमा देशको निर्णय राजनीतिक पूर्वाग्रहीः चीन


चिनियाँ सरकार आफ्नो देशका यात्रुको आगमनमा प्रतिबन्ध लगाउने थुप्रै देशको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही रहेको भन्दै आफूले बदला लिनसक्ने चेतावनी दिएको छ । अमेरिका, भारत र बेलायतसहित कैयौँ देशले चीनबाट आउने मानिसहरूको हकमा अनिवार्य कोभिड परीक्षण गराउनुपर्ने नियम लागु गरेका छन् ।

कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियमहरू खुकुलो पारेपछि चीनमा कोरोनाभाइरस सङ्क्रमण बढ्दो क्रममा पाइएको छ । सबै सङ्क्रमण र मृत्युका घटनालाई सरकारी तथ्याङ्कले नसमेटेको आशङ्का व्यक्त भइरहेको छ ।

चीनले पछिल्लो पटक कोभिडबारे डिसेम्बर २४ तारिखमा दैनिक अद्यावधिक विवरण उपलब्ध गराएको थियो जसअनुसार ५ हजार भन्दा कम सङ्क्रमित थपिएका थिए । तर कतिपय विश्लेषकले त्यहाँ अहिले दैनिक २० लाखभन्दा बढी सङ्क्रमण भइरहेको र यो महिना सङ्क्रमणको उत्कर्षमा एक दिनमा करिब ४० लाख थपिन सक्ने बताएका छन् ।

सङ्क्रमणसम्बन्धी तथ्याङ्क उपलब्ध नभएपछि र चिनियाँ सरकारले जनवरी ८ तारिखबाट यात्रालाई खुकुलो बनाउने भएपछि एक दर्जनभन्दा बढी देशले चीनबाट हुने आगमनको हकमा अनिवार्य कोभिड परीक्षणको नियम ल्याएका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनले चीनलाई ‘रीअल टाइम डेटा’ उपलब्ध गराउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ताले विश्वसँग गरिने सञ्चारमा सुधार ल्याउन बेइजिङ इच्छुक रहेको बताएकी छन् ।

यद्यपि प्रवक्ता माओ निङ्गले महामारी नियन्त्रणका नाममा अन्यथा गर्ने र राजनीतिक उद्देश्यका लागि कदम चाल्ने प्रयासको चीनले विरोध गर्ने अनि जवाफी कदमको सिद्धान्तअनुरूप निर्णय लिने चेतावनी दिइन् ।

चिनियाँ सिमानाहरू सन् २०२० को मार्च महिनायता लगभग बन्द छन् । त्यो कारणले थोरै विदेशीहरू तथा एकदम कडा परीक्षण एवं क्वारन्टिनसम्बन्धी नियमबाट गुज्रिनेहरू मात्र चीनमा प्रवेश गर्न पाएका छन् ।

युरोपेली आयोगका अनुसार युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेका छन् । केही मुलुकले भने आफ्नै हिसाबले प्रतिबन्धहरू लगाइसकेका छन् ।