बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए ।
हमलामा परी जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।
जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए । आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ । त्यस्तै आक्रमणको समय पारेर जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरुलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।
त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरिएको बताएका छन् । अहिले सो जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

प्रतिक्रिया