ब्राजिलका राष्ट्रपति विदेश पलायन


ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन भएका छन् ।

उनले आफ्नो चुनावी हार स्वीकारेका छैनन् । उनले स्थानीय समयअनुसार अपराह्न शुक्रबार २ बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सिएनएन ब्राजिलले बोल्सोनारोलाई उदृत गर्दै भनेको छ, ‘म उडिरहेको छु, म चाँडै फर्कनेछु ।’ ‘एभिएसन ट्रयाकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उनको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो ।

यसको अर्थ उनले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिने छैनन् अर्थात् उनले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्ने छैनन् । बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनेछन् ।

आरएनआर टेलिभिजनका अनुसार उनको कार्यकालमा उपराष्ट्रपति रहेका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहेका छन् ।

बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिन चाहेनन् । यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य नहुने बताएका छन् ।

उनले भने, ‘हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।’