निर्वाचन परिणामलाई लिएर ब्राजिलका पराजित राष्ट्रपति बोल्सोनारु अझै मौन


ब्राजिलका निर्वाचन प्रमुखले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जइर बोल्सोनारुले अझै हार स्विकारेका छैनन् ।

वामपन्थी धारका चर्का प्रतिस्पर्धीसँग झिनो अन्तरले चुनाव हारेपछि उग्र दक्षिणपन्थी राष्ट्रपति राजधानी ब्रसिलियास्थित आफ्नो सरकारी निवासमा सुत्न गएको बताइएको छ । बोल्सोनारुको मौनताले उनले चुनावी नतिजा नस्विकार्न सक्ने चिन्ता बढाएको छ ।

विगतमा उनले मतदान प्रणालीबारे अपुष्ट सन्देहहरू व्यक्त गरेका थिए । विगतमा बोल्सोनारुले सार्वजनिक गरेका चर्का वक्तव्यमा उनले ईश्वरले मात्र आफूलाई पदबाट हटाउन सक्ने जस्ता कुरा गरेका थिए ।

जसले गर्दा उनको सार्वजनिक उपस्थितिलाई व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ । ब्रजिलको सर्वोच्च निर्वाचन सम्बन्धी अदालतले स्थानीय समय अनुसार आइतबार साँझ ८ बजे लुलाले राष्ट्रपतीय निर्वाचन जितेको घोषणा गरेको थियो ।

सबै मतगणना सकिँदा लुलाले ५०.९ प्रतिशत र बोल्सोनारुले ४९.१ प्रतिशत मत पाएका थिए । लुलालाई ब्रिटेन, चीन, फ्रान्स, भारत र रुससहित संसारभरबाट बधाई आउने क्रम सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उनको जित स्वतन्त्र, निष्पक्ष र भरपर्दो चुनावपछि आएको बताएका छन् ।

पराजित उम्मेदवारले हार स्विकारेको वक्तव्य दिने र विजेतालाई फोन गरेर बधाई दिने परम्परा रहे तापनि बोल्सोनारु अझै मौन छन् । जितयता लुलाले आफ्ना पराजित प्रतिद्वन्द्वीबारे केही बोलेका छैनन् ।