सङ्कटपूर्ण अवस्थामा रहेका अफ्रिकी शरणार्थीलाई सहयोग गर्न राष्ट्रसङ्घको आग्रह


संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन् ।

उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरु बढ्ने क्रम जारी रहेको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपील गरेका हुन् ।

उनले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताए । संयुक्त राष्ट्रसङ्घले हालैमात्र सरकारहरुले राखेका तथ्यांङ्कमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि प्रवक्ता डुजारिकको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताए ।

उता हाल देखा परिरहेका शरणार्थीहरुमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका थिए ।

सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको छ । सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ ।