किएभमा भएको रुसी आक्रमणको विश्व समुदायद्वारा निन्दा, अमेरिकाले युक्रेनलाई थप सहायता दिने


रुसले युक्रेनको राजधानी किएभको केन्द्र भागमा पहिलो पटक गरेको क्षेप्यास्त्र हमलासहित कैयौँ सहरमा बमबारी गरेपछि रुसको व्यापक निन्दा भइरहेको छ । अमेरिकाले ती निर्मम हमलाहरू गैर सैनिक निशानाहरू गरिएको जनाउँदै सैन्य सहायता जारी रहने बाचा गरेको छ ।

जसमा एउटा विश्वविद्यालय र बालबालिकाको खेल मैदान समेत छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस घटनाले आफू स्तब्धमा परेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती हमलाहरू रुस–क्राइमिया जोडिने मुख्य पुलमा शनिबार भएका विस्फोटनको जवाफ बताएका छन् ।

युक्रेनले त्यस घटनामा आफ्नो भूमिकाबारे कुनै पुष्टि गरेको छैन । युक्रेनका अनुसार ८३ वटा क्षेप्यास्त्रहरू प्रहार गरिएकामा ४३ वटालाई निष्क्रिय पारिएको थियो । एउटा भिडियोमार्फत् युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई त्रसित हुन नसक्ने र यसले थप एकताबद्ध मात्र हुने बताएका छन् ।

लभिभ, खार्किभ, डिनिप्रो र जापोरिजामा भएका ती घातक प्रहारहरू युक्रेनले हालैका महिनामा देखेका सबैभन्दा खराबमध्येका हुन् । आक्रमणमा परी अधिकारीहरूले कम्तीमा १४ जना मानिसहरू मारिएको र २० जनाभन्दा धेरै घाइते भएको जनाएका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले रुसले आतङ्क र क्रुरताको पक्ष लिएको बताइन् । बाइडनले हमलाहरूले पुटिनको गैरकानुनी युद्धको चरम क्रुरता देखाएको बताए । चीन र भारतले तनाव कम गर्न आह्वान गरेका छन् ।