युक्रेनको राजधानी किएभमा कैयौँ विस्फोट


रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ । किएभमा सोमबार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रीका एकजना सहयोगीले बताए अनुसार क्षेप्यास्त्र हमलाका कारण आठ जना मानिसहरूको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो ।

कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो । बीबीसीकाअनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन् । ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् ।

यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो । सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडियोहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ । किएभमा हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए ।

सोमबार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रुसले संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । टेलिग्राममा लेखिएको एउटा पोस्टमा उनले किएभ, जेपोरिजा र डिनिप्रोमा भएका विस्फोटनलाई जनाउँदै त्यो युक्रेनभर कम नहुने बताए ।