‘युक्रनेविरुद्ध सामरिक परमाणु अस्त्र प्रयोग गरे दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको रुप लिन्छ’


अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेन युद्धमा रासायनिक वा सामरिक परमाणु अस्त्रहरू प्रयोग नगर्न रुसलाई चेतावनी दिएका छन् । अमेरिकाको सीबीएस न्यूजसँग अन्तर्वार्ताका क्रममा बाइडनले त्यस्ता कदमले दोस्रो विश्वयुद्ध यता कहिल्यै नदेखिएको युद्धको रूप देखापर्ने बताएका छन् ।

त्यस्ता अस्त्रको प्रयोग भएको खण्डमा अमेरिकाले चाल्ने कदमबारे भने उनले केही बोलेनन् । राष्ट्रपति बाइडनलाई यदि पुटिनले युक्रेनमा आम विनाशकारी अस्त्र प्रयोग गर्ने सोचिरहेको भए के गर्नुहुन्छ भनी सोभिएको थियो ।

त्यसको जवाफ दिँदै बाइडनले भने,’त्यो कस्तो हुनेछ भन्ने थाहा भएको भए तपाईँलाई भन्थेँ ? अवश्य भन्ने छैन । त्यसले अरू कदम निम्त्याउनेछ । उनीहरू यसअघि कहिल्यै नभए जसरी विश्वमा अस्वीकृत हुनेछन्। र उनीहरू कुन हदसम्म जान्छन् भन्ने कुराले त्यसमा जनाइने प्रतिक्रिया निर्धारण गर्छ।’

पछिल्ला दिनमा युक्रेनले उत्तर–पूर्वी खार्किभ क्षेत्रमा ८ हजार वर्ग किलोमिटर भन्दा धेरै गुमाएको क्षेत्रफल पुनः प्राप्ति गरेको छ। युक्रेनको सफल प्रत्याक्रमणबीच पुटिनले भने त्यसले पूर्वी युक्रेनमा रुसले आफ्नो कारबाही नरोक्नेमा जोड दिएका छन् ।

गत फेब्रुअरीमा युक्रेनमा आक्रमण थालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको परमाणु फौजलाई विशेष सतर्कतामा राखेका थिए ।

उनले प्रतिरक्षा सम्बन्धी प्रमुखहरूलाई पश्चिमा विश्वको आक्रामक अभिव्यक्तिका कारण त्यसो गरिएको बताएका थिए। परमाणु अस्त्रहरू झण्डै ८० वर्षदेखि अस्तित्वमा छन् । र धेरै देशहरूले त्यसलाई आफ्नो राष्ट्रिय सुरक्षा सुनिश्चित गर्दै सम्भावित युद्ध रोक्ने रणनीतिक उपायका रूपमा राखेको बताउने गरेका छन् ।

रुससँग अनुमानित झण्डै ५ हजार ९७७ वटा परमाणु युद्ध शीर्ष रहेको फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्सले जनाएको छ । यद्यपि उसले त्यस्ता अस्त्रहरू प्रयोग गर्न चाहेको देखिँदैन । सामरिक परमाणु अस्त्रहरू तुलनात्मक रूपमा छोटो दूरीमा प्रयोग हुने खालका हुन्छन्।