दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण भएका कारण त्यहाँको सहरका अधिकारीहरूले बासिन्दाहरूलाई बाढीको खतरा भएकाले अन्यत्र जान भनेका छन् ।
क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले चेतावनी दिएका छन् । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको उनीहरूले बताएका छन् ।
आफूले गरेका प्रत्याक्रमणको बदलामा रुसले उक्त आक्रमण गरेको युक्रेनले बताएको छ। बुधबार काराचुनिभ्स्के जलाशयमा आक्रमण भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आतङ्कवादी राज्यको संज्ञा दिए ।
उनको सङ्केत पछिल्ला समयमा युक्रेनको तेज प्रत्याक्रमणमा खासगरी उत्तरपूर्वी खार्किभ क्षेत्रमा मिलेको सफलतातर्फ थियो । ती प्रत्याक्रमणमा युक्रेनी सेनाले थुप्रै भूभागमा पुनः नियन्त्रण कायम गरेको र रुसी सेना पछाडि हटेको दाबी गरिएको छ । आफ्नो सम्बोधनमा जेलेन्स्कीले उक्त जलाशयको कुनै सैन्य महत्व नभएको बताए ।
आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ। रुसले फेब्रुअरी २४ मा युक्रेन आक्रमण थाल्नु अघि सो सहरमा ६ लाखभन्दा धेरै जनसङ्ख्या थियो।

प्रतिक्रिया