युनिसेफले अफगानिस्तानका भूकम्प पीडित बालबालिकाका लागि मोबाइल कक्षा सञ्चालन गर्ने


संयुक्त राष्ट्र संघको अन्तरराष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले जुन महिनाको विनाशकारी भूकम्पमा आफ्ना परिवारका सदस्यहरू गुमाएका बालबालिकाका लागि अफगानिस्तानमा मोबाइल शैक्षिक कक्षाहरू स्थापना गर्ने निर्णय गरेको छ।

खामा प्रेसका अनुसार मानवीय निकायले अफगानिस्तानको दक्षिणपूर्वी क्षेत्रको खोस्ट र पक्तियाका भूकम्प प्रभावित प्रान्तहरूमा ४,००० बालबालिकाका लागि १४० वटा मोबाइल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

युनिसेफ अफगानिस्तानले आइतबारको ट्वीटमा खोस्ट प्रान्त र पक्तिया प्रान्तका यी समुदायमा आधारित कक्षाकोठाहरूले भूकम्प पीडित ४,००० बालबालिकालाई सिक्ने अवसर दिने बताएको छ।

‘मोबाईल कक्षाकोठाको स्थापनाले बालबालिकालाई सिकाइमा मद्दत गर्नेछ,’ खामा प्रेसले युनिसेफको विज्ञप्तिलाई उदृत गर्दै उल्लेख गरेको छ ।

जुनमा अफगानिस्तानको दक्षिणपूर्वी भागहरूमा गएको विनाशकारी भूकम्पमा धेरै बालबालिकाले आफ्ना बुबा, आमा र आफन्तहरू गुमाएका थिए ।

भूकम्प प्रकोपले एक हजार भन्दा बढी मानिसको ज्यान लिएको र थुप्रै मानिसहरूलाई घरबारविहीन बनाएको थियो । यसअघि अगस्टको अन्त्यमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले पनि खोस्त र पकतिया प्रान्तमा भूकम्पबाट प्रभावित भएकाहरूका लागि २,३०० “भूकम्प प्रतिरोधी“ घर निर्माण योजना शुरु भएको घोषणा गरेको थियो।