महारानी एलिजाबेथ द्वितीया बाल्मोरलमा चिकित्सकीय निगरानीमा रहेको बकिङ्गम दरबारले जनाएको छ । उनको स्वास्थ्यबारे चिकित्सकहरूले चिन्ता व्यक्त गरेपछि त्यसो गरिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।
९६ वर्षीया महारानीका सबै सन्तानहरू कि त स्कटिस क्षेत्र एबर्डिन नजिकैको उक्त निवासमा पुगेका छन् वा पुग्ने क्रममा छन् । दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान गरिएको थप मूल्याङ्कनमा महारानीका चिकित्सकहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरे र उनी चिकित्सकीय निगरानीमा रहन सुझाएका थिए।’
महारानी सहज अवस्थामा रहेको उक्त विज्ञप्तिमा थप भनिएको छ । बकिङ्गम दरबारले यस्तो विज्ञप्ति जारी गर्नु निकै अस्वाभाविक मानिन्छ । दरबारले निजी विषयका रूपमा हेरिने महारानीको स्वास्थ्य अवस्थाबारे प्रायः टिप्पणी गर्न रुचाउँदैन ।
राजकुमार चार्ल्स त्यहाँ आफ्नी श्रीमती डचिस अफ कोर्न्वलसाथ पुगेका छन् । प्रधानमन्त्री लिज ट्रसले सिङ्गो राष्ट्रलाई यो समाचारले गहिरो चिन्ता पार्ने बताएकी छन् ।
उनले थप भनेकी छन्, ‘मेरो र हाम्रो यूकेभरिका मानिसहरूको प्रार्थना यस समयमा महारानी र उनको परिवारसाथ छ।’ महारानीले ट्रसलाई लन्डन नगईकन प्रधानमन्त्रीको रूपमा बाल्मोरलमा पदबहाल गराएकी थिइन्।

प्रतिक्रिया