जापोरीजा परमाणु केन्द्रको सुरक्षाको निम्ति राष्ट्रसंघको आह्वान


संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने चेतावनी दिएको छ ।

गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन् ।गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो।

उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिवेदनलाई सकारे र यसले परमाणु ऊर्जा केन्द्रको वरपर रुसी सेनाको उपस्थिति, त्यहाँ युक्रेनी कर्मचारीहरूमाथि दबाव, र रुसी सैन्य कब्जाको स्पष्ट सन्दर्भहरूबारे उल्लेख गरिएको जनाए ।

उनले परमाणु ऊर्जा केन्द्रको क्षेत्रलाई निःशस्त्रीकरण गर्ने उद्देश्य हो भने सुरक्षित क्षेत्रलाई समर्थन गर्ने बताएका छन् । यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ । जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन् ।

मङ्गलबार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ।