बेलायतमा सत्ताधारी कन्जर्भेटिभ पार्टीले लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ । स्थानीय समयानुसार सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उनी मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन् ।
कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् । नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ । सात वर्षको उमेरमा विद्यालयमा भएको आमचुनावसम्बन्धी एउटा नाटकमा लिज ट्रसले मार्गरेट थ्याचरको भूमिका निभाएकी थिइन् ।
थ्याचर त्यस बेलाकी प्रभावशाली प्रधानमन्त्री थिइन् र उनले सन् १९८३ मा व्यापक बहुमत पाएकी थिइन् । ३९ वर्षपछि सोमबार उनी आइरन लेडी भनेर पनि चिनिने थ्याचरकै पद पछ्याउन वास्तविक रूपमै हाम फालिन् र कन्जर्भेटिभ पार्टीको नेता बनिन् । अब उनी मङ्गलवार ब्रिटेनको प्रधानमन्त्री नियुक्त हुनेछिन् ।
सबै पाँच चरणका निर्वाचनमा टोरी सांसदहरूले विदेशमन्त्री ट्रसलाई पूर्व अर्थमन्त्री ऋषि सुनकभन्दा पछाडि पारिदिएका थिए । तर पार्टीका सदस्यहरूको मतबाट उनले सुनकलाई पछाडि पारिन् ।
उनले आफ्नो क्षेत्रमा सम्बन्ध सुमधुर बनाउन वर्षौँ बिताएकी छन् भने आफ्नो प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोनसनलाई साथ दिएकी छन् ।
तर विभिन्न हिसाबले उनी परम्परागत सोचाइकी कन्जर्भेटिभ पार्टी सदस्यजस्ती भने होइनन् । म्यारी एलिजाबेथ ट्रस सन् १९७५ मा अक्सफर्डमा जन्मिएकी हुन् । उनले आफ्ना पिता गणितका प्राध्यापक र आमा वाम खेमाकी नर्स भएको बताएकी थिइन् ।

प्रतिक्रिया