‘बेलायतले पैसा गन्दा हामी शव गनिरहेका छौँ’


युक्रेनकी प्रथम महिलाले ब्रिटिशहरूले ’पैसा गनिरहँदा’ युक्रेनीहरूले ’शव गनिरहेको’ टिप्पणी गरेकी छन् । ओलेना जेलेन्स्काले बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले यदि युक्रेनले दह्रो समर्थन प्राप्त गरेको भए अहिलेको सङ्कटको समयावधि छोटो हुने बताइन् ।

किएभमा दिइएको अन्तर्वार्तामा उनले युद्धका कारण भएको मानवीय क्षति उजागर गरिरहनु महत्वपूर्ण भएको पनि बताएकी थिइन् । जेलेन्स्काले आफूले विरलै आफ्ना श्रीमानलाई देख्न पाए पनि दुवै जनाबीच प्रत्येक दिन कुराकानी भने हुने गरेको बताइन् ।

प्रथम महिला जेलेन्स्का र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सन् २००३ मा विवाह भएको थियो । आइतबार प्रसारण हुने अन्तर्वार्तामा जेलेन्स्कालाई रुसले युक्रेनमा आक्रमण गरेपछि महँगो ऊर्जा शुल्क तिरिरहेका ब्रिटिश नागरिकलाई के सन्देश दिनुहुन्छ भनेर सोधिएको थियो ।

उनलाई उक्त युद्धले विश्वव्यापी ग्यास र तेल मूल्यमा परेको प्रभावका बारेमा पनि प्रश्न गरिएको थियो । जेलेन्स्काले भनिन्, ‘मलाई थाहा छ अवस्था ज्यादै कठिन छ। तर म सम्झन्छु कि कोभिड–१९ को महामारी जुन अझै पनि हामीसँग छ, त्यति बेला पनि मूल्यवृद्धि भएको थियो। युक्रेन पनि प्रभावित भएको थियो।’

‘युक्रेनमा पनि मूल्यवृद्धि भइरहेको छ। त्यसमाथि हाम्रा मानिसहरूलाई मारिएको छ। त्यही भएर जब तपाईँ आफ्नो बैंक खातामा वा गोजीमा भएको रकम गन्न थाल्नुहुन्छ, हामी पनि त्यसरी नै हाम्रो तर्फ भएका क्षति र शव गन्छौँ,’ उनले भनिन्।

अघिल्लो महिना किएभको भ्रमण गरेका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले युरोपका देशहरूले जीविकोपार्जनको लागतसँग जुझ्नुपर्ने र युक्रेनमाथिको रुसी आक्रमणविरुद्ध दह्रो गरी उभिनुपर्ने बताएका थिए।